राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राससलाई पनि समयसापेक्ष सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।
राससको मधेस प्रादेशिक कार्यालय जनकपुरधाममा आज आयोजित एक कार्यक्रममा अध्यक्ष झाले राज्यले एक ठाउँमा केन्द्रीत शक्तिको विकेन्द्रीकरण गर्ने नीति लिएअनुरूप राससले पनि आफूलाई रूपान्तरणको प्रयास गरिरहेकाले सोहीअनुसार स्थानीय र प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनुभयो । उहाँले नेपालको सामाजिक विविधता र सद्भावको कुरा राससले प्रदान गर्ने सेवामा झल्किनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“बहुलवादलाई आत्मसात् गर्दै देशले लिएको नीतिअनुरूप राससले आफूलाई पनि रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि हामीले प्रदेशमा बाहुल्य रहेका स्थानीय भाषामा समेत समाचार सम्प्रेषणका लागि छलफल गरिरहेका छौँ”, अध्यक्ष झाले भन्नुभयो, “राससमा सबैले अपनत्व महसुस गर्ने गरी सेवाप्रवाह तथा सेवाको गुणस्तरीयता कायम गर्नु आजको आवश्यकता हो । त्यसका लागि सबै पक्षबाट आवश्यक सहयोगको अपेक्षा पनि गर्दछु ।”
राससले आफ्नो आन्तरिक स्रोतवृद्धि र अनधिकृत समाचार प्रयोगलाई निरुत्साहित गर्न सेवाग्राहीको सङ्ख्या बढाउनुपर्ने भन्दै उहाँले त्यसका लागि सम्बद्ध पक्षलाई क्रियाशील हुन निर्देशनसमेत दिनुभयो । “काठमाडौँ बाहिरका मिडियाहरूको समेत सहजताका लागि राससले विचार तथा अन्तरवार्तामूलक सामग्री पनि दिन थालेको छ । सस्तो र सुलभ शुल्कमा समाचार तथा अन्य सामग्री प्राप्त गर्न सकिने अवस्था र यसको महत्त्वका विषयमा सेवाग्राहीलाई पर्याप्त जानकारी दिन लाग्नुपर्छ”, अध्यक्ष झाले भन्नुभयो ।रासस