आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बंैक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । शाखा विस्तारसँगै बैंङ्कि कारोबार गर्ने जनसंख्या उल्लेख्य बढेको देखिएको छ ।
“विक्रम सम्वत २०७९ फागुनसम्ममा बंैक तथा वित्तीय संस्थामा निक्षेप खाता चार करोड ९२ लाख पाँच हजार, कर्जा खाता १८ लाख ५४ हजार, मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ६५ हजार र इन्टरनेट बैंकिङ सेवाका प्रयोगकर्ता १७ लाख ७९ हजार पुगेको छ”, आर्थिक सर्वेक्षणमा भनिएको छ, “चालु आर्थिक वर्षको फागुनसम्म २५ हजार कर्जा खाता र ४२ लाख ३३ हजार निक्षेप खाता थप भएका छन् ।”
पछिल्ला वर्षमा मर्जर तथा प्राप्तिमार्फत बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि शाखा विस्तार र वित्तीय पहुँच बढ्दै गएको छ । डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
क्युआर कोडमार्फत गरिने भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ भने विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत हुने कारोबारमासमेत बढोत्तरी भएको छ । कोभिड–१९ को असरबाट अर्थतन्त्र क्रमिक रूपमा पुनरूत्थान हुँदै गइरहेकोमा रुस–युक्रेन युद्धको असर र गत आर्थिक वर्ष आयातमा तीव्र वृद्धि हुँदा चालु आर्थिक वर्षमा नेपालको बैकिङ प्रणालीमा तरलता तथा लगानीयोग्य साधनमा कमी आई ब्याजदर बढेको छ ।रासस