चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो ।
सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डिप ट्युबेल र तीन सय ६० वटा स्यालो ट्युबेल जडान गरिएको आयोजना प्रमुख देवकुमार स्याङ्बोले बताउनुभयो । उहाँका अनुसार यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ । विशेष गरेर कुलो, नहर नभएको र भएर पनि नियमित पानी नआउने ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान गरिएको उहाँले जानकारी दिनुभयो । पश्चिम चितवनका कतिपय ठाउँमा अहिले बाह्रै महिना सिँचाइमार्फत खेती गरिएको स्याङ्बोले बताउनुभयो ।
आयोजनाले स्यालो ट्युबेल पूर्ण अनुदानमा उपलब्ध गराउँदै आएको छ । डिप ट्युबेलका लागि पाँच प्रतिशत जनसहभागिता आवश्यक पर्छ । त्यसका लागि किसानले श्रमदान पनि गर्न सक्नेछन् । “चार बिघासम्म जग्गा भएको क्षेत्रमा स्यालो ट्युबेल उपलब्ध गराइएको छ”, स्याङ्बोल भन्नुभयो, “किसान सानो समूह बनाएर आउने गर्नुभएको छ ।” यस्तै डिप ट्युबेलका करिब ४० बिघा जग्गा क्षेत्रफल भएमात्र उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो । “ट्युबेलमार्फत सिँचाइ गर्न किसानले रुचाएका छन्, कार्यालयले माग धान्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । धेरै जग्गा आवश्यक पर्ने भएका कारण पनि डिप ट्युबेलमा किसानको आकर्षण कम भएको उहाँको भनाइ छ । चितवनमा भूमिगत सिँचाइ लागू भएपछि बाह्रै महिना सिँचाइ गर्दा पनि पानीको सतह घटेको छैन । नारायणी र राप्तीको दोभान भएका कारण यहाँ पानीको समस्या नभएको आयोजना प्रमुख स्याङ्बोले बताउनुभयो । रासस