चार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ–ठाउँमा सङ्केत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकडभिट्टासम्म एक वर्षअघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो यो ।
कोरोना कहरका बेला सारा संसार कोठामा बन्दी भएका बेला काँकडभिट्टामा एसियाली राजमार्ग निर्माणको काम धमाधम भइरहेको थियो । कोरोना महामारीको बन्दाबन्दीको दुईवर्षे अन्तरालपछि काँकडभिट्टा आइपुग्नेका लागि यो राजमार्गको झल्को अकल्पनीय थियो ।
टाढाबाट आन्तरिक पर्यटक काँकडभिट्टाको एसियाली राजमार्ग हेर्नै भनेर पनि आउने गरेका छन् । सफा र फराकिलो चार लेनको सडकमात्र होइन, मेची नदीमा निर्मित चार लेनकै अत्याधुनिक पुलको सौन्दर्यले पर्यटक र यात्रुलाई उत्तिकै आकर्षित गरेको छ ।
पुल र सडकमा उभिएर खिचिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्नेहरूको ताँतीले एसियाली राजमार्ग आफैँमा पर्यटकीयस्थल बन्न पुगेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । उहाँले एसियाली राजमार्गका कारण तेस्रो मुलुकबाट पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई आकर्षण गर्ने, यात्रा छिटो र छरितो हुने बताउनुभयो ।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मात्र यसको संरचना पूर्णरूपमा निर्माण भएको छ । बङ्गलादेशबाट भारतको बागडोग्रा हुँदै पानीटङ्की नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै पक्की चार लेनको पुल निर्माण गर्दा नेपालतिरको करिब डेढ किलोमिटर भागसम्म पहुँच सडक विस्तार गरेको हो । यही पहुँच सडक र पुल नेपालभित्र निर्मित एसियाली राजमार्गको पहिलो संरचना मानिन्छ ।रासस