नेपाल सरकार एकीकृत विपद् व्यवस्थापन प्रणाली अपनाएर यसको पूर्वतयारी, उद्धार र पुनःस्थापन कार्यक्रम सञ्चालनमा अग्रसर भएको छ ।

विपद् र यसबाट हुने क्षति न्यूनीकरणका लागि नेपाली नमूनाकै एकीकृत विपद् व्यवस्थापन प्रणालीमा देश अघि बढेको हो । विगतमा विपद् व्यवस्थापन प्रणालीमा एक रुपता नभएको र आ–आफ्नै तरिकाले व्यवस्थापन गर्दा विविध समस्या आइपरेकाले अब भने सबै ‘स्टेक होल्डर’को संयुक्त प्रयासमा विपद् व्यवस्थापन कार्य अघि बढाउने प्रयास थालिएको हो ।

गृहमन्त्रालय एकीकृत प्रणालीका कतिपय काम अघि बढिरहेका छन् भने कतिपय काम अघि बढाउने चरणमा रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एकीकृत विपद् व्यवस्थापनका लागि नीति, कानुन, नियम तथा कार्यविधि बनाएर अघि बढ्न थालिएको छ । जसले गर्दा विपद्को पूर्वतयारी, विपद् न्यूनीकण, खोज, उद्धार र विपद्पछिको अस्थायी आश्रयस्थल तथा पुनःस्थापनका काम छिटो, छरितो र प्रभावकारी हुने विश्वास गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल प्राकृतिक प्रकोपलगायतका घटनामा सरकारी गैरसरकारी तथा संस्था सबै मिलेर एउटै कार्ययोजना बनाउने र त्यही कार्ययोजनाका आधारमा सरोकार राख्ने सबै निकाय संयुक्तरुपमा परिचालन हुने गरी एकीकृत प्रणाली अपनाइएको बताउनुहुन्छ । यस वर्षको मनसुनका लागि पनि कार्ययोजनाको ड्राफ्ट तयार भएको तथा आउँदो साता कार्यकारी समितिबाट पारित गरेर लागू गर्ने तयारी रहेको उहाँले बताउनुभयो । रासस