जिल्लाको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष रु दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो । यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ । असिना पानीले फल लागेका काँक्रा पूर्ण रुपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिनुभयो । उक्त गाउँमा गत वर्ष पनि असिनाकै कारण बीउ उत्पादन घटेको थियो ।
बीउ उत्पादनबाट बर्सेनि रु दुईदेखि रु दुई करोड १० लाखसम्म भित्र्याउँदै आएको सो गाउँमा यस वर्ष भने कत्ति पनि उत्पादन नभएको पाठकले जानकारी दिनुभयो । यहाँका कृषकले दुई वर्षअघि सात टन बीउ उत्पादन गरेका थिए । त्यसबाट रु दुई करोड १० लाख आम्दानी गरेका थिए भने अघिल्लो वर्ष रु एक करोड २३ लाख भित्र्याएका थिए ।
सो गाउँका ७२ घरधुरीको मुख्य पेसा नै काँक्राको बीउ उत्पादन हो । “हिउँदभरि गरेको दुःख क्षणभरमै सखाप बनाइदियो”, नारायणस्थान बीउ उत्पादन समूहका उपाध्यक्ष जमुना कुँवरले भन्नुभयो, “मुख्य पेसा नै असिनाले खाइदिएपछि निकै समस्यामा परेका छाँै ।”
उहाँले काँक्राको बीउमा परेको क्षतिबारे स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराएको भए पनि राहतका लागि कुनै पहल नभएको गुनासो गर्नुभयो । ठूलो आम्दानी हुने भए पनि स्थानीयवासीले काँक्रा खेतीका बीमा भने गरेका छैनन् ।
समूहका अध्यक्ष पाठकले दुई वर्षअघि एक सय ६८ किलोग्राम काँक्राको बीउ उत्पादन गरेकामा यस वर्ष असिनाका कारण सबै सखाप पारिदिएको गुनासो गर्नुभयो । त्यो बेला प्रतिकिलो बीउको मूल्य रु तीन हजार रहँदा उहाँलाई काँक्राको बीउबाट रु पाँच लाखभन्दा बढी कमाई भएको थियो ।रासस