चितवनको इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ ।

चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्न निरन्तर सक्रिय रहेको सपना भिलेज सोसियल इम्प्याक्टले राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो ।

चेपाङ समुदायका बालबालिकालाई शिक्षामा अग्रसर गराउन विद्यालयमै खाजा तथा खाना कार्यक्रम प्रभावकारी हुने देखिएपछि आफूहरुले विद्यालयमा नै भान्छा घर निर्माण गरी पौष्टिक आहार सहितको दिवा खाना कार्यक्रम सुरु गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो ।

कार्यक्रम सञ्चालनपछि नियमित नभएका विद्यार्थी पनि अहिले नियमित रुपमा विद्यालय आएका जनाइएको छ । दिवा खाजाका रुपमा बालबालिकालाई विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको अध्यक्ष गिरीको भनाइ छ ।

पेटभरि खान नपाएर बालबालिका विद्यालय आउन छाडेपछि इम्प्याक्टले दैनिक रुपमा विद्यालयमै खाना खुवाउने व्यवस्था मिलाएको हो । त्यसका लागि इम्प्याक्टले विद्यालय भवनको एउटा कोठामा भान्सा कोठासमेत निर्माण गरिदिएको छ ।

विगत छ महिनादेखि नै उक्त विद्यालयमा दुई सय ८० विद्यार्थीलाई विद्यालयमै खाना खुवाउँदै आएको इम्प्याक्टले शुक्रबार औपचारिकरुपमा भान्सा कोठा र खाना खुवाउने कार्यक्रमको उद्घाटन गरेको हो ।रासस