नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गर्नुभएको छ ।
एमाले पार्टी मुख्यालयमा आजदेखि सुरु भएको स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने अनुशिक्षण कार्यक्रममा उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजेको भन्दै यसमा एमालेको संलग्नता नरहेको बताउनुभयो ।
“एमाले यस्ता कुरामा संलग्न छैन । एमाले सधैँ भ्रष्टाचारको विरोधी गर्छ”, उहाँले भन्नुभयो, “एमाले स्वच्छता, पारदर्शी र सुशासनको पक्षमा रहेको छ । तर एमालेलाई बदनाम गर्न खोजियो ।” उहाँले एमाले विरुद्ध संसद्मा आधारहिन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अवरुद्ध गरिएको बताउनुभयो । “संसद्मा बोलेका कुराको पुष्टि हुनुप¥यो । पुष्टि हुने सम्भावना छैन”, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले पार्टी अहिले चौतर्फि घेराबन्दीमा परेको बताउनुभयो । “नेपालीलाई भुटानी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल भएका छन् । अहिले यसमा को संलग्न छ ? अदालतमा मुद्दा परेको छ म भन्न चाहन्न”, उहाँले भन्नुभयो, “तर भुटानी शरणार्थी प्रकरणको सबै दोष एमालेतर्फ खन्याउन खोजियो ।”
उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाउनुभयो । “मेरा नजिकका मानिसलाई कसरी पोल्न, लेख्न र मुछ्न लगाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “एमालेका विरुद्ध अनेक प्रकारका हिलो छ्याप्ने, आरोपित गर्ने प्रयास भइरहेका छन् ।रासस
