उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उहाँले सफल आरोही बुढामगरलाई बधाई तथा शुभकामना दिनु भएको हो ।
“तेह्र वर्षअघि गोर्खा सैनिकका रुपमा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएपछि पनि आफ्नो कठोर परिश्रम, दृढ इच्छा शक्ति र जीवनमा केही गर्ने हुटहुटीले तपाईंलाई कीर्तिमानी बनाएको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो ।
खुट्टा नहुँदाको प्रतिकूलतालाई चिर्दै कृत्रिम खुट्टाको प्रयोग गरी बुढामगरले विश्व कीर्तिमान कायम गर्नुभएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसबाट सम्पूर्ण नेपाली गौरवान्वित भएको बताउनुभयो । “तपाईंका लगन, धैर्य र आत्मबल तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने यस कीर्तिमानी कार्यको उच्च प्रशंसा गर्न चाहन्छु । यो सफलता अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोत बन्न सकोस् ।”
उपराष्ट्रपति यादवले सगरमाथाको चुचुरोमा पुग्नु आफैँमा एउटा साहसिक कार्य भएको बताउनुभयो । “तपाईंको यो ऐतिहासिक कार्यले अपाङ्गता भएका र विभिन्न कारणले अङ्गभङ्ग भएकालाई सधैँ उत्प्रेरित गरिरहने विश्वास मैले लिएको छु”, उहाँले भन्नुभयो । रासस