जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका शिक्षक तथा विद्यार्थी जोखिममा छन् ।
प्राविधिक जनशक्ति उत्पादनको ‘हब’ मानिँदै आएको उक्त शिक्षालयको भौतिक संरचना विद्यार्थी सङ्ख्या अनुसार भरपर्दो छैनन् भने निर्माण भएको पनि धेरै वर्ष भएका छन् । विसं २०३७ मा युनाइटेड मिसन टु नेपाल र नेपाल सरकारको साझेदारीमा निर्मित उक्त भवन बनेको ४४ वर्ष पुगेको छ ।
शिक्षालयको शैक्षिक तथा भौतिक संरचनासम्बन्धी आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा शिक्षालय प्रमुख टेकेन्द्र थापाले शिक्षालयको वस्तुगत अवस्थाबारे जानकारी दिनुभएको थियो ।
उहाँले स्थापना भएको ४४ वर्षसम्म मुलुकलाई करिब सात हजार प्राविधिक जनशक्ति दिएको शिक्षालयले कृषि, वन, निर्माण तथा स्वास्थ्य सङ्कायमा अध्ययन अध्यापन गरिरहेको जानकारी दिनुभयो । नर्सिङ पठनपाठनका लागि आफ्नै अस्पताल हुनुपर्ने शिक्षा नीतिमा उल्लेख भएकाले शिक्षालयमा नर्सिङ पठनपाठन हुन नसकेको प्रमुख थापाको गुनासो थियो ।
उहाँका अनुसार शिक्षालयको छ सय ५१ रोपनी जमिनमा ५८ भवन छन् । तीमध्ये छ वटा निर्माण भएका छन् भने बाँकी ५२ भवन अझै जीर्ण अवस्थामा छन् । “प्राविधिक लागत अनुमान अनुसार आवासीय तथा शैक्षिक भवन निर्माणका लागि करिब रू १५ करोड लाग्छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रू पाँच करोड बजेट प्रस्ताव गरिएको छ”, शिक्षालय प्रमुख थापाले भन्नुभयो । रासस
