स्याङ्जाको गल्याङ नगरपालिका–१ महालिङ्गधामस्थित उत्तरबाहिनी क्षेत्रमा प्राकृतिक चिकित्सालय (आयुर्वेद अस्पताल) बन्ने भएको छ ।
सङ्घीय सरकारको सहरी विकास मन्त्रालय र नगरपालिकाको साझेदारीमा रु दुई करोड १२ लाखको लागतमा १० शय्याको अस्पताल बन्न लागेको हो । फूलजोर निर्माण सेवा बिजुलीबजार काठमाडौँसँग गत फागुन १८ गते यसै आर्थिक वर्षमा काम सक्नेगरी भएको सम्झौताको काम धमाधम चलिरहेको छ ।
बयालीस रोपनी क्षेत्रफल ओगट्ने सुविधा सम्पन्न २४ कोठे अस्पतालबाट पञ्चतत्व, हाइड्रोथेरापी, फिजियोथेरापी, योगथेरापी, मसाजथेरापी, स्टिमथेरापी, अकुपञ्चर, एक्युप्रेससरलगायतका पद्धतिमार्फत बिरामीको उपचार गरिनेछ ।
“सामाजिक चिन्तन प्राकृतिक चिकित्सालय निर्माण गर्ने योजना थियो, उत्तरबाहिनीमा चिकित्सालय निर्माणका लागि त्यहाँ उपयुक्त वातावरण र भूगोल छ”, उहाँले भन्नुभयो, “कालीगण्डकीको तटमा सबैभन्दा राम्रो होला भनेर नगरपालिकाको अपनत्वमा अस्पताल निर्माणको काम भएको छ ।”
उहाँका अनुसार आवश्यकताका आधारमा नगरपालिकाले प्राविधिकलगायत अन्य व्यवस्थापकीय काम गर्नेछ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले उत्तरबाहिनीमा योग शिविर, धार्मिक अनुष्ठान, संस्कृत शिक्षालगायतका कार्यक्रम पहिल्यैदेखि सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्राकृतिक उपचार पद्धतिले कुनै पनि प्रकारको असर नगर्ने र औषधि नखाई उपचार गरिने भएकाले संसारको सबैभन्दा राम्रो उपचार पद्धति यो हो, त्यसैले यहाँ प्राकृतिक चिकित्सालयको आवश्यकता भएको हो ।”
चैतन्य कृष्णले यस अस्पतालमा प्राकृतिक भोजनसहितको प्राकृतिक उपचार गरिने बताउनुभयो । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले यहाँ आउने तीर्थयात्री र बिरामीलाई निःशुल्क भोजनको व्यवस्था गर्ने जनाइएको छ । गल्याङ–३, का स्थानीय शिशिर पौडेलले उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय बन्नु अत्यन्त सुखद विषय भएको बताउनुभयो ।रासस
