हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ ।
बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ ।
त्यसैगरी वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका कारण विभिन्न किसिमका रोगकीराको प्रकोप देखिन थालेका ज्यामरुककोटका मौरीपालक किसान बलबहादुर घिमिरेले बताउनुभयो ।
गत आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाका विभिन्न स्थानमा किसानले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष जम्मा १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
जिल्लामा रहेका दुई हजार पाँच सयवटा मौरीका आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जानकारी दिनुभयो ।
विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा आर्थिक वर्ष २०७९÷ ८० मा १७ हजार ६ सय केजी मह उत्पादन भएको हो ।
पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसान भने चिन्तित बनेका छन् । मौरीले एक पटकको विचरणमा एकै जातका बालीका फूलमा मात्रै विचरण गरी परागसेचन गर्ने मौरी विशेषज्ञ बताउँछन् । जुन क्रियाले पृथ्वीको आधारभूत पारिस्थितिक प्रणाली कायम रहेको उनीहरुको भनाइ छ । रासस