नवलपरासी पूर्व नवलपुरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन थालेका छन् । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गरिसक्नुपर्ने छ ।

यसैका लागि बजेट निर्माण अघि रायसुझाव सङ्कलन थालिएको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको उहाँको भनाइ छ । यही जेठ २० गतेभित्र नगरपालिकामा रायसुझाव पेस गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्लाका आठवटै पालिका यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्व तयारीमा जुटेका छन् । उनीहरुले स्थानीयसित रायसुझाव माग गरेका छन् । पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ फरक बनाउन रायसुझाव माग गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

बौदिकाली गाउँपालिकाले प्राथमिकताका आधार तोकेर सम्बन्धित विषयमा रायसुझाव माग गरेको छ । कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी पालिको रायसुझाव माग गरेको ति तथा कार्यक्रम आवश्यकपर्ने हो सोही अनुसार सुझाव माग गरिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । रासस