०७ जेठ, म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रचारप्रसारका लागि आधार शिविरमा विविध खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले ‘उच्च उचाइ खेलकुद प्रतियोगिता’ आयोजना गरेको हो । समुद्री सतहदेखि चार हजार एक सय ९० मिटरको उचाइमा शनिबार गाउँपालिकाले मैत्रीपूर्ण दौड, छेलो फाल्ने र अन्धनिसान प्रतियोगिता सम्पन्न गरेको छ ।

अन्नपूर्ण हिमालकै फेदीमा आयोजित एक सय मिटर दौड प्रतियोगितामा पत्रकार, जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मीलगायत ३० जनाको सहभागिता थियो । प्रतियोगितामा सन्दिप शर्मा रिजाल प्रथम, यामप्रसाद पुर्जा पुन द्धितीय र विष्णुप्रसाद रिमाल तृर्तीय भएका छन् । प्रतियोगितमा प्रथम, द्धितीय र तृर्तीय हुनेलाई क्रमशः रू तीन हजार, दुई हजार र एक हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, छेलो फाल्ने प्रतियोगितामा सबैभन्दा टाढा छेलो फालेर यामप्रसाद पुर्जा पुन विजयी हुनुभएको छ । उहाँले रू तीन हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगितामा विजयी हुनेलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नं ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामी, वडा नं ७ का अध्यक्ष मइलन पुर्जा र वडा नं ८ का अध्यक्ष खमबहादुर गर्वुजाले पुरस्कार वितरण गर्नुभएको थियो । सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो ।

हिमालका प्रथम आरोहीको नामबाट नामाकरण गरिएको पदमार्गको प्रचारप्रसारका लागि आधार शिविरमा खेलकुद प्रतियोगिता सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । “आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रको प्रचारप्रसार र पदमार्गको प्रवद्र्धनका लागि खेलकुद प्रतियोगिता आयोजना गरिएको हो”, उहाँले भन्नुभयो । सुवेदीका अनुसार प्रतियोगितामा सहभागी हुन जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारको टोली पैदलयात्रामार्फत आधार शिविर पुगेका थिए ।

अन्नपूर्ण हिमालको प्रथम आरोही हर्जोगको नामबाट नामाकरण गरिएको नारच्याङ हुँदै आधारशिविर पुग्ने पदमार्ग, आश्रयस्थल, पुल लगायतका पूर्वाधार निर्माण भइसकेकाले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

“नारच्याङ हुँदै–छोटेपा–हुमखोलासम्म २० किलोमिटर दुरीमा सडकको ट्र्याक निर्माण भएको छ”, उहाँले भन्नुभयो । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग, आश्रयस्थ लगायत पर्यटन पूर्वाधार निर्माण गरेपछि नर्थ अन्नपूर्ण आधार शिविरमा गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि एकैदिनमा पुग्न सकिने गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । स्राेत रासस