मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि शुक्रबारदेखि वन प्रवेश खुला गरिएको छ ।
यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई वन प्रवेश खुलाइएको हो । वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका सङ्कलनकर्ताले मात्र वन प्रवेश अनुमति पाउने प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताउनुभयोे ।
यार्सागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्न आउनेमध्ये जिल्लाभित्रका सङ्कलकलाई प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाका प्रतिव्यक्ति दुई हजार पाँच सयका दरले कर गाउँपालिकाले तोकेकोे छ ।
गाउँपालिका–१ र २ मा पर्ने वन तथा पाटन क्षेत्र रिमाड, ठूलो कुइकी, सानो कुइकी, च्यार्खुलेख, छापाखोला र टाँकेमा बढी यार्सागुम्बा पाइन्छ । यार्सागुम्बा सङ्कलनका लागि जिल्लाभरिका बासिन्दाका साथै छिमेकी जिल्ला जुम्ला, कालीकोट, बाजुरा, हुम्लाबाट पनि सयौँ मानिस आउने गरेका छन् ।
विगत दुई वर्षयता कोरानाले गर्दा कर्णालीवासीलगायत मुगालीको बर्सेनि खर्चको स्रोतका रूपमा रहेको यार्सागुम्बा सङ्कलन तथा बिक्री बन्द भएकाले स्थानीयवासीले आर्थिक समस्या झेल्दै आएका थिए । चीनसँग जोडिएको नाक्चेलाग्ना नाका नेपाल सरकारले पूर्णरुपमा खोल्न प्रयास नगर्दा सङ्कलक तथा व्यापारीले समयमै यार्साको उचित मूल्य पाउन सकिरहेका छैनन् । एक महिनासम्म यार्सा सङ्कलन गरे पनि सङ्कलक तथा व्यापारीले साउन महिनाको अन्तिम सातादेखि चीनबाट ह्याजिमारमा लाग्ने हाटबजार नखोल्दासम्म पर्खनुपर्ने बाध्यता छ । रासस
