काठमाडौँ महानगरपालिकाले घरबहाल व्यवस्था निर्देशिका जारी गरेको तीन महिना बितिसक्दासम्म विवरण लिएर आउने घरधनीको सङ्ख्या बढ्न सकेको छैन । घरबहालमा लगाउनेलाई कानूनी दायरामा ल्याउनका लागि कामपाले गत फागुन ३ गते नै ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरेको थियो ।
निर्देशिका जारी गरेको तीन महिना बितिसक्दा पनि घरधनी विवरण लिएर नगन्य मात्रामा मात्रै आउने गरेको कामपाको राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । यसैलाई व्यवस्थित गर्न र घरबहाललाई कानूनी दायरामा ल्याउनका लागि गरिएको प्रयास अझै प्रभावकारी हुन सकेको छैन ।
यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाउनुभएको छ भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्ने कानूनी व्यवस्था नै छ । राजस्व विभागका अनुसार अहिले तीन–चार दिनमा एक–दुई जनामात्रै विवरण बुझाउन आउने गरेका छन् ।
विभाग प्रमुख काफ्लेका अनुसार हाल महानगरभित्र चार लाखभन्दा बढी घर भाडामा लगाइएका छन् । यी सबैलाई करको दायरामा ल्याउने कामपाको तयारी छ । कामपाभित्रका सबैलाई करको दायरामा ल्याउने योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने उद्देश्यले निर्देशिकासँगै ९० दिनको सार्वजनिक सूचनासमेत जारी गरेको थियो । रासस
