मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजङ्गल । चारैतिर घना जङ्गलले घरिएको मुठाचौरमा ढुङ्गा, माटो र काठले बनेका कलात्म घर छन् । यी घरमा वर्षको सात महिना ताला लगाइएको हुन्छ । घुम्ती बसाइँ हुने गर्दा स्थानीय यहाँ बर्खाको समय पशुचौपाया लिएर पुग्ने गर्छन् । मुठाचौर मोटरबाटो, खानेपानी, विद्युत्लगायत विकासका पूर्वाधारले नजोडिएको हुँदा स्थानीय छोटो समय मात्रै बस्ने गर्छन् ।
छोटो समयमै पनि उनीहरुले यहाँ आलु, भाँगो र सिमी उत्पादन गर्छन् भने पशुचौपाया पनि पाल्ने गर्छन् । सेवासुविधाले पछि परेको मुठाचौर अब विकासले जोडिँदै छ । तमानखोला गाउँपालिका–२ मा पर्ने यो ठाउँ बागलुङको मुख्य पर्यटकीय गन्तव्य बराह तालको छेउमै छ । भौगोलिक हिसाबले निकै विकटमा रहेको हुँदा मुठाचौरमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको थिएन । यस वर्ष बल्ल यहाँ सडक पुगेको छ । पर्यटकीय हिसाबले भने निकै मनोरम रहेको मुठाचौर पुग्ने जोकोही यहाँबाट देखिने दर्जनौँ हिमशृङ्खला र अनेकौँ दृश्यले लोभिने गर्दछन् ।
प्राकृतिक सुन्दरताले भरिएको मुठाचौरमा करिब दुई सय घर परिवार बसोबास गर्दै आइरहेका छन् । हरेक वर्ष स्थानीय चार महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । सेवासुविधा नपुग्दा घुम्ती बसाइँ गर्ने स्थानीय अब मुठाचौरमै बस्ने छन् । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाखले मुठाचौरमा सडक पु¥याइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँका अनुसार मुठाचौरसँगै बराहतालसम्म सडक पु¥याइएको छ रासस
