नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा आयोजित लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ ।

लेखा व्यवसायमा लागू भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिने, आर्थिक सुशासन निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र संस्थाका सदस्यको भूमिका बढाएर मुलुकको अर्थतन्त्र सबल बनाउनका लागि योगदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आइक्यान अध्यक्ष भाष्कर सिंह लालाले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले मुलुकको वित्तीय अनुशासन पालना गर्नका लागि लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । आर्थिक अनियमिततासँग जोडिएका विषय उजागर गर्नमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने पनि उहाँको भनाइ छ ।

“प्रत्येक वर्ष अनियमितता बढिरहेको छ । कर फर्छ्योटमा कमी देखिएको छ । निजी क्षेत्रमा जति पनि अनियमितता देखिएका छन्, त्यो भनेको अडिटरको पनि जिम्मेवारीभित्र पर्छ”, महालेखापरीक्षक शर्माले भन्नुभयो, “लेखा व्यवसायीले व्यावसायिक तरिकाले हेरिदिनुभयो भने यस्ता समस्या कम हुँदै जान्छन् । समस्या जति ढाकछोप गर्न थालिन्छ र मिलाउनतिर लागिन्छ, त्यति नै ठूलो समस्या आउँछ ।”

चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका राज्यका निकाय तथा सार्वजनिक संस्थाको वित्तीय कारोबारलाई प्रमाणित गर्ने मात्र नभई आर्थिक सुशासन कायम गर्नका लागि पनि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । मर्यादित लेखा व्यवसायमार्फत पेसागत विश्वास जगाउन आवश्यक रहेको पनि महालेखापरीक्षक शर्माले बताउनुभयो ।रासस