अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ । भ्रमणमा अष्ट्रेलियाको नेपालसँगको सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरको बारेमा चर्चा हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
सहायकमन्त्री वाट्सले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । सो अवसरमा उहाँले अष्ट्रेलियासँगको सहकार्य, ६३ वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धलगायत विषयबारेमा चर्चा गर्नुहुनेछ । अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा चाँडो बढिरहेको आप्रवासी जनसङ्ख्या भएको छ । हाल करिब एक लाख ३० हजार नेपाली अष्ट्रेलियामा बसोबास गर्दछन् ।
भ्रमण कार्यक्रमको मुख्य आकर्षणका रूपमा १३औँ शताब्दीको पाटनको सुलीम टोलस्थित रत्नेश्वर मन्दिरको टुँडाल समुदायलाई फिर्ता गर्न पाटन स¬ङ्ग्रहालयमा आयोजना हुने कार्यक्रममा सहायकमन्त्री वाट्स सहभागी हुनुहुनेछ । आर्ट ग्यालरी न्यु साउथ वेल्सले यो महत्त्वपूर्ण कलाकृति नेपाललाई फिर्ता गरेको हो । उक्त सङ्ग्रहालयका निर्देशक डा माइकल ब्राण्डले उक्त टुँडाल हस्तान्तरण गर्नुहुनेछ ।
यसैगरी उहाँले काठमाडौँ विश्वविद्यालयको हाल अष्ट्रेलियाली संस्थासँग भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र हाल भइरहेका विद्यार्थी आदानप्रदान कार्यक्रमलगायत विषयमा भविष्यमा हुनसक्ने सहकार्यका बारेमा समेत जानकारी लिनुहुनेछ । रासस