बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ । प्राविधिक र कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको हो ।

बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका जग्गादातालाई बाँकी जग्गा फिर्ताको काम बाँकी छ । बसपार्कमा अपुग संरचना निर्माणको काम र बसपार्क सञ्चालनका लागि सरोकारवालासँग छलफलको कामलाई तत्काल अघि बढाउन नगरपालिका तयार भएको हो । सोमबार सरोकारवाला, जग्गादाता तथा सर्वसाधारणबीच सार्वजनिक सुनुवाइ गरेर तत्काल बसपार्क सञ्चालनमा ल्याउन काम थाल्ने निष्कर्षमा पुगेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

“जग्गातादाले एकीकृत गरेर दिएको जग्गामा बसपार्क बनेको छ, बाँकी जग्गा फिर्ता गर्नुपर्ने छ, त्यही जग्गामा निर्मित संरचना र फालिएको माटोका विषयमा अख्तियारमा मुद्दा छ”, उहाँले भन्नुभयो, “फिर्ता गर्नुपर्ने जग्गाको माटो व्यवस्थापनबारे अख्तियारको पत्र प्राप्त भएको छ, जनसमुदायले काम सुरु गर्नुस् भनेपछि अब काम थाल्छौँ ।”

एकीकृत गरिएको झण्डै ६० रोपनी जग्गामध्ये १७ दशमलव आठ रोपनी जग्गामा बसपार्क बनेको छ भने बाँकी जग्गा कित्ताकाट गरेर दातालाई फिर्ता गर्ने सहमति छ । बाँकी रहेको जग्गामा फ्याँकिएको माटो व्यवस्थापनका विषयमा विवाद थियो । बसपार्क निर्माण कम्पनी ‘आशिष फेवा जेभी’ले तीन सय मिटर टाढा फ्याँक्नुपर्ने माटो बाँकी रहेको जग्गामा फ्याँकेको र त्यही माटो पन्छाउनका लागि अर्को ठेक्का लागेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
रासस