०१ जेठ, काठमाडाैं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ  ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, वैशाख १० गते सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सङ्गठनको रणनीति र कार्यनीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रिय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफनो धारणा बनाउने बताइएको छ । बैठक वैशाख ३० र ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै आजका लागि सारिएको थियो । स्राेत रासस