नेपाल सरकार आउँदो मनसुनका समयमा हुनसक्ने विपद्जन्य घटना व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ ।
आउँदो मनसुनमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि निश्चित क्षेत्रमा अधिक र निश्चित क्षेत्रमा कम वर्षा हुनसक्ने अवस्थालाई समेत मध्यनजर गरी आवश्यक तयारीमा सरकारले काम थालेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगतको विपद् र त्यसबाट सिर्जित असरको अवस्था, देशको भौगोलिक अवस्था, जलवायु परिवर्तनको असर, सम्भावित जोखिम क्षेत्र पहिचानको आधारमा सोही अनुसारको विपद् व्यवस्थापनको पूर्व तयारी थालिएको छ ।
विपद्को पूर्वतयारी, अस्थायी आश्रयस्थल व्यवस्थापन र खाद्यान्नको आवश्यक व्यवस्थापनका पूर्व तयारी पनि सँगसँगै थालिएको छ । विपद्पछिको उद्धार तथा पुनःस्थापनमा सधैँ आलोचना हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै विशेष ध्यान दिन गृहमन्त्रालयले सम्बद्ध निकायसँग समन्वय गरिरेको छ ।
विपद् व्यवस्थापनको पूर्व तयारीस्वरुप यही वैशाख २९ मा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मातहत र सरोकार राख्ने सबै निकायलाई आ–आफ्नो विषयगत क्षेत्रको तयारीमा जुट्न निर्देशन नै दिइसकेको छ ।
कार्यकारी समितिका अध्यक्ष उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब तयारी पुगेन भनेर विपद् व्यवस्थापन कार्यमा छुट नपाइने भएकाले अहिलेदेखिनै के गर्नुपर्ने हो त्यो काम गरेर तयारी अवस्थामा राख्न सरोकारवाला निर्देशन भनिसक्नुभएको छ । रासस