वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा (अटोरिक्सा) चालक शोभाकान्त उपाध्याय धनगढीको सडक छेउमा रिक्सा अड्याएर पैदल हिँडेका यात्रुको खोजी गरिरहेको भेटिनुभयो ।
अन्दाजी ६५ वर्षीय उपाध्यायले विगतमा छोराको विवाह गर्दा लागेको ऋण बुझाउन टन्टलापुर घाममा रिक्सा चलाएर कामाइ गर्नुपरेको दुखेसो सुनाउनुभयो । “दुई छोरा भारतमा काम गर्छन्, एउटा छोरा यही गाडी चलाउँछ”, उहाँले भन्नुभयो, “छोराको विवाह गर्दा लागेको रू पाँच लाख ऋण तिर्नै धौधौ परेपछि रिक्सा चलाएर कमाइ गर्नुपरेको हो ।”
धनगढीमा छ धुर जग्गामा बनेको कर्कटपाताको छानो भएको घर छ । उहाँले १० वर्षदेखि अटो रिक्सा चलाउँदै आउनुभएको छ । यसअघि स्थानीय एक निजी विद्यालयमा रिक्सा चालकका रुपमा काम गर्नुभएका उहाँले युवा अवस्थामा भारतमा मजदुरीको काम गर्नुभएको थियो । “अटो रिक्सा चलाउँदा सुरुका वर्षमा राम्रै कमाई हुन्थ्यो, हाल रिक्सा धेरै हुँदा यात्रु नपाएर कमाई घटेको छ”, उपाध्यायले थप्नुभयो, “कमाई घटे पनि रिक्साले रोजगारी दिँदा सन्तुष्टि छ ।”
अर्का अटो रिक्सा चालक ६३ वर्षीय अरुण पुजाराले आफ्ना हातपाउ छउञ्जेल आफ्नै देशमा काम गरेर खाने बताउनुभयो । “विदेशमा गएर तल्लोस्तरको काम गर्न तयार हुने तर आफ्नै देशमा काम गर्न लाज मान्ने र इज्जत जाने कुरा गर्नेको प्रगति हुन सक्दैन”, उहाँले भन्नुभयो, “आफ्ना हातगोडा चलेसम्म काम गरेर खाने हो ।”
एकदशक बढी समय भारतको देहरादुनमा मजदुरी गर्नुभएका पुजाराका पाँच छोरा सबैले स्वरोजगारी गर्नुहुन्छ । आफ्नो कमाइप्रति सन्तुष्टि व्यक्त गर्दै उहाँले थप्नुभयो, “आफू कुनै समयमा महिनामा रू एक लाखसम्म कमाउँथे ।” अहिले दिनमा रू पाँच सयदेखि सात सयसम्म कमाइ हुने गरेको उहाँको भनाइ थियो।
धनगढीमा पछिल्ला वर्षमा विद्युतीय रिक्साको व्यवसाय फस्टाएको छ । बजार क्षेत्रका यात्रुको आवागमनका लागि सजिलो साधनका रुपमा रहेको यो व्यवसायबाट धेरैले रोजगारी पाएका छन् । घरायसी काममा मात्रै सीमित रहनुभन्दा रिक्सा चलाएर कमाइ भइरहेको रिक्सा चालक गौरी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा कमाइ हुने अर्को बाटो छैन, रिक्सा चलाएर हुने कमाइले जासोतसो जीवन गुजारा भइरहेको छ ।”
यहाँले महिलाले पनि रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका छन् भन्दै चौधरीले महिलाले रिक्सा चलाएको अनौँठो मान्ने सोच र प्रवृत्ति कतिपय ठाउँमा अझै देखिने भनाइ थियो । “यस्तो सोचलाई निरुत्साहित गर्दै धेरै महिला विद्युतीय रिक्सा चलाएर आयआर्जन गर्न थालेका छन्”, उहाँले भन्नुभयो । विद्युतीय रिक्सा चलाएर उहाँले दैनिक रू सात÷आठ सयसम्म कमाइ गरिरहनुभएको छ ।
पछिल्ला वर्षमा सहरी क्षेत्रमा भित्रिएका विद्युतीय रिक्सा बेरोजगार भएर बसेकाका लागि मुख्य रोजगारको माध्यम बन्न थालेको रिक्सा मजदुरले बताएका छन् । स्थानीय रिक्सा चालक भीमबहादुर चौधरीले भन्नुभयो, “रिक्सा चलाउने कामबाट भइरहेको आयआर्जनबाट घरधन्दा चलाउन सहज भएको छ ।”
विद्युतीय रिक्सा ‘रिचार्ज’ गरेर चलाउन मिल्छ । एक पटक ‘रिचार्ज’ गर्दा झण्डै एक सय किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ । पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय रिक्सा व्यवसायले धेरै योगदान दिएको छ । यस व्यवसायप्रति आकर्षण बढ्दै जाँदा बजार क्षेत्रमा रिक्साको सङ्ख्या पनि बढ्दै गएको छ ।
छोटो दूरीमा यात्रा गर्न सहज र सस्तो माध्यम बनेको स्थाीयको भनाइ थियो । विद्युत्बाट चार्ज गरेर चलाउन सकिने भएकाले पछिल्लो समय विद्युतीय रिक्सासँगै स्कुटर र विद्युतीय साइकलको प्रयोग पनि बढ्दै गएको छ । विद्युतीय रिक्सा व्यवसाय फस्टाउँदै गए पनि यसको दर्ता गरी रुट परमिट लिन र चालक अनुमतिपत्र पाउन सास्ती खेप्नु परेको रिक्सा मजदुरको गुनासो छ ।
यातायात व्यवस्था कार्यालयले यी रिक्सा दर्ता र चालक अनुमतिपत्र प्रदान गर्दछ । सुरुका वर्षमा धनगढी उपमहानगरपालिका कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था थियो । धनगढीमा झण्डै तीन हजार विद्युतीय रिक्सा सञ्चालनमा छन् । विद्युतीय रिक्सा सञ्चालनसँगै दुई दशकअघिसम्म सञ्चालनमा रहेका परम्परागत तीनपाङ्ग्रे रिक्साको व्यवसाय पूर्णरुपमा विस्थापित भएको छ ।रासस