जिल्लामा रहेका स्थानीय तहले चालु आर्थिक वर्षका योजना कटौती गर्न थालेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका स्थानीय तहले चालु आवमा सञ्चालन हुन बाँकी रहेका योजना कटौती गरी कार्यान्वयनमा रोक लगाउन थालेका हुन् ।

सङ्घीय सरकारबाट हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको अन्तिम किस्तामा ५० प्रतिशत कटौती हुनु, प्रदेश तथा सङ्घबाट प्राप्त हुनुपर्ने राजस्व बाँडफाँटमा तोकिएअनुसार रकम प्राप्त नहुँदा थप नयाँ योजना सम्झौता रोक्नुपर्ने अवस्था आएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले बताउनुभयो ।

नगरपालिकाको लक्ष्यअनुसारको आन्तरिक आम्दानी उठ्ने सम्भावनासमेत नदेखिएकाले चालु आर्थिक वर्षमा तय गरिएका र कार्यान्वयनमा नगएका थप योजना सञ्चालन गर्नसक्ने अवस्था नभएको उहाँको भनाइ छ । “केन्द्रबाट आउनुपर्ने रकम पनि कटौती भएको छ, आन्तरिक स्रोततर्फ लक्ष्यअनुसार राजस्व उठ्नसक्ने अवस्था देखिएको छैन, यसैले चालु आवका बाँकी योजना कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ”, प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भन्नुभयो ।

कावासोतीले चालु आर्थिक वर्षमा करिब रु १४ करोड आन्तरिक आम्दानीको लक्ष्य राखेकामा हालसम्म करिब रु पाँच करोड मात्रै आम्दानी भएको छ । यसले गर्दा आन्तरिक स्रोतबाट तय गरिएका करिब रु नौ करोड बराबरका योजना सञ्चालन हुनसक्ने अवस्था छैन । कावासोतीले नयाँ योजना सञ्चालन गर्नसक्ने अवस्था नभएपछि थप योजना तथा कार्यक्रम सम्झौता नहुने भनेर सूचना प्रकाशन गरेको छ । रासस