कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँ श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुनुहुन्छ ।

विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ । “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखँे”, उहाँले भन्नुभयो । पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोल्नुभयो । वन विभागको अनुमति लिनुभएका पन्तले भन्नुभयो, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।”

काठमाडाँैमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गर्नुभएका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिनुभयो । हाल उहाँले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गर्नुभएको छ ।

“वार्षिक रु १८ लाखदेखि रु २० लाखसम्मको कारोबार हुन्छ”, पन्तले भन्नुभयो । महेन्द्रनगरेको भासीमा एक बिघा जमिन भाडामा लिएर उहाँले खेती गर्न थाल्नुभएको हो । पन्तले भन्नुभयो, “व्यवसाय बढाउन जिल्ला वन कार्यालयदेखि प्रदेश सरकारसम्म धाए पनि कुहीँकतैबाट सहयोग प्राप्त भएन ।”

सुदूरपश्चिममै पहिलोपटक श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्न थाल्नुभएका पन्तले उत्पादन गर्नुभएका बिरुवा स्थानीय बजार, सङ्घसंस्थाका साथै वन कार्यालयले खरिद गर्ने गरेका छन् । “श्रीखण्डको भित्री काठ अहिले रु तीन हजार पाँच सयदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो, “रक्तचन्दनको कारोबार भने हालसम्म यहाँ भएको छैन ।

सुरुआतमा खेती गर्ने उद्देश्यले व्यवसाय थालिए पनि पछि जमिन नपाउँदा नर्सरी बनाएर बिरुवा उत्पादनमा लागेको पन्त बताउनुहुन्छ । “अहिले खेतीबाट भएको मुनाफाको ५० प्रतिशत दिने गरी जमिन भाडामा लिएको छु”, उहाँले भन्नुभयो । महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय सुरुआत गरेका उहाँले जानकारी दिनुभयो ।

कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै पन्तले कानुनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या नरहेको बताउनुभयो । उहाँले आफ्नो फार्ममा एक जनालाई रोजगार दिनुभएको छ । व्यावसायिक कृषिले आर्थिक अवस्थामा सुधार आउनसक्ने सम्भावना धेरै भए पनि त्यसतर्फ खासै ध्यान पुग्न नकसकेको उहाँको भनाइ छ ।

बिरुवा उत्पादन भए पनि बजारको अभाव रहेको पन्तले बताउनुभयो । सुरुआतमा रु तीन लाखको लगानीमा खेती सुरु गर्नुभएका उहाँले बिरुवा उत्पादन बढाउँदै लैजाने योजना रहेको बताउनुभयो । छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्डका बिरुवा हाल हुर्किरहेका छन् ।

धार्मीक कार्यमा रक्तचन्दन र श्रीखण्डको बढीजसो प्रयोग गरिन्छ । रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने पन्त बताउनुहुन्छ । एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुनुका साथै विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा यसको प्रयोग हुने गरेको छ । श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिन्छ । रासस