गोरखामा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अवसर प्रदान गर्नका लागि गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । गोरखा
नगरप्रमुख कृष्णबहादुर रानामगरले महिला उद्यमी सङ्घ र नगरपालिकाको संयुक्त आयोजनामा भएको तालिममा १५ महिलाको सहभागिता रहेको जानकारी दिनुभयो । “अहिले दिन लागिएको तालिम पृथ्वीनारायण शाहको मूर्ति बनाउनेसम्बन्धी एकमहिने एड्भान्स तालिम हो”, उहाँले भन्नुभयो, “यसअघि एकमहिने आधारभूत तालिममा सहभागी भएकाहरू दोस्रोपटकको एड्भान्स तालिममा सहभागी भएका छन् ।”
तालिमका क्रममा निर्माण गर्ने मूर्ति विभिन्न कार्यक्रममा मायाको चिनोका रूपमा अतिथिलाई दिनका लागि समेत प्रयोग हुने उहाँको भनाइ छ । “गोरखा भन्नेबित्तिकै नेपाल एकीकरणको उद्गम थलो र तत्कालीन पृथ्वीनारायण शाहले राज्य गरेको ठाउँका रूपमा विश्वभर परिचित ऐतिहासिक जिल्ला हो”, नगरप्रमुख रानामगरले भन्नुभयो, “त्यसैले पनि गोरखा आउँदा गोरखाको इतिहासलाई सम्झाउने मायाको चिनो लैजान धेरैजसो लालायित हुने भएकाले पनि तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सके प्रभावकारी हुनेछ ।रासस
