यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो ।

सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भुल्केकट्टीमा रहेको पाँचधारे मुहान नजिकै उत्पत्ति भएको यो स्थानको संघीय सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागत साझेदारीमा काम भइरहेको छ ।

यसको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर निर्माणको काम अघि बढाइएको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिनुभयो । यहाँ गुप्तेश्वर मन्दिर निर्माण तथा घेराबारा र आवश्यक संरचना निर्माण गरिने छ । यहाँ निर्माण हुने सबै संरचनाको रु चार करोडको बराबरको डिपिआर तयार भएको उहाँले बताउनुभयो ।

“धार्मिक क्षेत्रका रूपमा विकास गर्न गुप्तेश्वर महादेवको संरक्षण थालेका हौँँ”, उहाँले भन्नुभयो, “अहिले विस्तृत परियोजना प्रतिवेदन नै तयार गरेर काम थालेका छौँ । यो क्षेत्रलाई एक धार्मिक क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।” मन्दिर उत्पत्ति भएपछि यहाँ देशका विभिन्न ठाउँबाट मानिस दर्शनका लागि आउने गरेका कारण यसको विकास गर्दै प्रचार–प्रसारमा जोड दिने उहाँको भनाइ छ ।रासस