पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् ।

सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल एक हजार नौ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताउनुभयो ।

तीमध्ये एक हजार सात सय १८ जना भूटानी नागरिक नै रहेका छन् । सोही अवधिमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञासहित नेपाल प्रवेश गर्ने भूटानबाहेक तेस्रो मुलुकका पर्यटक एक सय ९६ जना मात्र रहेका छन् ।

काँकडभिट्टा नाका पर्यटकका लागि पूर्वी नेपालको प्रमुख प्रवेशद्वार हो । भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्न प्रवेशाज्ञा लिनु पर्दैन । उनीहरू आधारकार्ड लगायतका परिचय खुल्ने सामान्य कागजातकै आधारमा नेपाल प्रवेश गर्न पाउँछन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख भट्टराईका अनुसार नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकमा भूटानपछि बङ्गलादेशले अग्रस्थान ओगटेको छ । सङ्ख्या भने ज्यादै थोरै रहेको छ । सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा कूल २७ जना बङ्गलादेशका पर्यटकले काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका छन् । रासस