वडा नं २ र वडा नं ४ ले १०औँ कीर्तिपुर नगरपालिका अन्तरवडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । वडा नं २ पुरुष तथा वडा नं ४ महिलामा च्याम्पियन बनेका हुन् ।

कीर्तिपुर बास्केटबल एशोसिएशन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको पुरुष फाइनलमा वडा नं २ ले वडा नं ३ लाई ५१–४४ ले पराजित ग¥यो । विजयी टिमका लागि प्रवीण गुरागाईंले १६ अङ्क जोडे । पहिलो क्वार्टर १०–१० को बराबरीमा सकिएको थियो । वडा नं २ ले दोस्रोमा १३–१२ र तेस्रोमा १५–१४ को सामान्य अग्रता लियो । वडा नं २ ले चौथो क्वार्टर १३–८ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित ग¥यो ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा नं ४ ले वडा नं ६ लाई ५५–५० ले हरायो । वडा नं ४ की मुना महर्जनले ३५ स्कोर गरिन् । पहिलो क्वार्टरमा १२–१६ ले पछि परेको वडा नं ४ ले दोस्रोमा २२–९ को अग्रता बनाउँदै जितको महत्त्वपूर्ण आधार खडा ग¥यो । वडा नं ४ तेस्रो क्वार्टरमा १२–९ ले अगाडि रह्यो । वडा नं ६ ले चौथो क्वार्टरमा ९–१६ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन । पुरुष÷महिला दुवैमा पहिलो हुनेले रु २० हजार तथा दोस्रोले रु १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुषमा वडा नं २ का नरेश महर्जन तथा महिलामा वडा नं ४ की मुना महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै खेलाडी जनही रु पाँच हजारबाट पुरस्कृत भए ।

विजेतालाई कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । यही वैशाख ९ गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषमा ११ तथा महिलामा छ टिम सहभागी थिए । रासस