कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा निमार्णको काम प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहतको जमिन विमानस्थललाई उपलब्ध नहँुदा निर्माणको काम प्रभावित बनेको हो ।

विमानस्थलको आफ्नो नाममा भएको जग्गामा निर्माण कार्य सम्पन्न भएको र थप काम गर्ने जग्गाको स्वामित्व प्राप्त नहुँदा काम रोकिने विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताउनुभयोे ।

“सेनाले भोगचलन गरिरहेको जग्गा विमानस्थलको नाममा आएको छैन”, उहाँले भन्नुभयो, “अहिले विमानस्थलको नाममा भएको जग्गामा काम सकिएको छ ।” ओझाले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढे पनि टुङ्गो लाग्न नसकेको बताउनुभयो ।

“अहिले विमानस्थलको १५ प्रतिशत काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “जग्गाको भोगाधिकारका लागि यहाँका जनप्रतिनिधि खटिनुभएको छ, आशा छ छिट्टै हुन्छ होला ।” अहिले पनि जग्गाको स्वामित्वका लागि फाइल मन्त्रालयमा प्रक्रियामै रहेको र मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको ओझाले बताउनुभयो । सेनाको मातहतमा रहेको जग्गा विमानस्थललाई दिने यसअघि सहमति भएको थियो । उहाँका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि लालपुर्जा सेनाका नाममा छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले मन्त्रिपरिषद्को निर्णयबिना रुख कटान गर्न नसकिने बताउनुभयो । “मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै हाम्रो रुख काट्ने पक्रिया सुरु हुन्छ”, उहाँले भन्नुभयो, “सरकारले निर्णय गरेपछि कुनै अवरोध हुँदैन ।रासस