नेपालमा छैटौँ सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) केही दिनअघि मनाइयो । सरकारी निकाय र सूचना प्रविधिका क्षेत्रमा काम गर्र्ने विभिन्न निजी सङ्घसंस्थाले यो दिवस विशेष महत्वका साथ मनाएका छन् ।
कतिपय नागरिक संस्थाले अझै पनि सूचना तथा प्रविधि क्षेत्रका जल्दाबल्दा विषयमा अनेका बहस गरिरहेकै छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदामा विभिन्न क्षेत्रबाट आफ्ना सरोकारका विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउनेक्रम पनि जारी छ ।
यस पटकको आइसिटी डे विशेष पृष्ठभूमिमा मनाइएको छ । विशेष यो अर्थमा कि हाल नेपालमा कानुन निर्माणका लागि नयाँ संसद् छ । नयाँ साइबर सुरक्षा नीतिको मस्यौदा सार्वजनिक भई पृष्ठपोषणका क्रममा छ । अघिल्लो संसद्मा पेस भए पनि टुङ्गोमा नपुगेको विधेयक जस्तै आइसिटी विधेयक पुनःमस्यौदा गरी संसद्मा पेस गर्नुपर्नेछ । साथ, केही समयदेखि देशमा साइबर आक्रमण र साइबर अपराधका अनेक घटना बढेर गएका समाचार आएका छन् ।
पृष्ठभूमिका यी विविध पक्षलाई नियाल्दा नेपालमा आइसिटी विषय अत्यन्त पेचिलो बन्दै गएको स्पष्ट हुन्छ । यसको अर्थ समयसँगै तीव्र गतिमा विकसित हुने आइसिटीको ज्ञान, यस क्षेत्रमा सीप र क्षमता विकास र यसको बहुपक्षीय आयामलाई उचित अभ्यासमार्फत् समाज र राष्ट्र निर्माणका लागि बृहत् बहस गर्न अब ढिलो गर्नै हुँदैन । अन्य मुलुकले चौथो औद्योगिक क्रान्तिबाट भरपुर फाइदा लिइरहेका बेला नेपाल भने वामेसर्ने अवस्थामा रहिरहनु दुःखको कुरा हो । रासस