जैमिनी नगरपालिका–८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ । धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदरको सङ्कलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो ।
बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालेको हो । जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने योजना सञ्चालन गर्ने सहमति भएको छ । साथै भेलाले बाँदर पार्क बनाउन आवस्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारलाई लेखी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले बताउनुभयो ।
भेलामा नगर प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीय सहभागी हुनुहुन्थ्यो । उहाँहरुले जैमिनी नगरपालिकाभित्रको बसाइँसराइ रोक्न बाँदर आतङ्क रोक्नुपर्ने धारणा राख्नुभएको थियो ।
उहाँहरुले बाँदर नियन्त्रण भएमा बसाइँसराइ पनि रोकिने आशा व्यक्त गर्नुभएको थियो । “हामीलाई बाँदरले धेरै दुःख दिएको छ, बालीनाली खाएकोे छ, नष्ट गरेको छ जसका कारण घरमा खाने केही बाँकी छैन”, स्थानीय दुर्गाबहादुर थापाले भन्नुभयो, “जैमिनी नगरभित्रका बाँदर ल्याएर संरक्षण गरियो भने खेतीपाती लगाएर खान पाइएला ।” हरेक घरमा बाँदरको हेरालो राख्दा पनि बाली जोगाउन नसकिएको उहाँले बताउनुभयो । रासस