लुम्बिनी प्रदेशस्तरीय महिला मञ्च, २०८० आजदेखि जिल्लाको तिलोत्तमामा सुरु भएको छ । महिला मञ्च, २०८० को उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध समाजका लागि सबैको समान हैसियत हुनुपर्ने बताउनुभयो ।
विभेदका कारण पत्ता लगाएर त्यसको अन्त्य गर्दै नागरिकको जीवनस्तर सहज बनाउन संविधानसभाबाट संविधान बनाइएको उल्लेख गर्दै उहाँले संविधानमा भएका महिलाका अधिकारका विषय सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो । “विभेदबाट पछि पारिएको वर्गलाई अवसर दिनुपर्छ र सबैको समान हैसियत बनाउन आवश्यक छ । यदि यसो गरिएन भने समाज पछि पर्छ”, उहाँले भन्नुभयो ।
संविधानमै राखिएका प्रावधानमा कतिपय शब्दले महिला प्रतिनिधित्वमा समस्या सृजना गरेको जनाउँदै उहाँले त्यसमा चनाखो भएर अगाडि बढ्न आग्रह गर्नुभयो । “संविधानमा स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एउटा महिला हुनुपर्ने व्यवस्था गरिएको छ । उपप्रमुख मात्रै भन्ने होइन”, उहाँले भन्नुभयो । राज्यले विशेष खालका नीति बनाएर प्रजनन अधिकार, स्वास्थ्यलगायतका महिला अधिकारका विषय सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । “महिला आन्दोलन निरन्तर अगाडि बढिरहनुपर्छ त्यसमा हाम्रो साथ र सहयोग छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष डा रेणु अधिकारीले सत्तामा रहेको पितृसत्ताको सोच बदल्न जरुरी रहेकामा जोड दिनुभयो । हामी विभिन्न रूप र ठाउँमा भए पनि अब शक्ति एक ठाउँमा प्रयोग गर्नुपर्ने बेला आएको जनाउँदै सबै मिलेर महिला अधिकारका पक्षमा आवाज उठाउन आवश्यक रहेको उहाँको भनाइ थियो । “हामी लोकतन्त्र र गणतन्त्रका लागि लड्यौँ, परिवर्तन पनि ल्यायौँ तर एक थरीका लागि मात्रै । जसले आफ्ना आफन्त गुमायो, जो बलात्कारमा परे उनीहरूका लागि परिवर्तनको लडाइँले के ग¥यो”?, उहाँले प्रश्न गर्नुभयो ।
महिला अधिकार, न्याय र समानताका लागि सरकार नै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । “पितृसत्ताले हामीलाई सिकाउने मात्रै काम ग¥यो, अब हामीले यी कुरा बुझेका छौँ, हामी सधैँ अरूले बनाएको योजनामा चल्दैनाँै आफैँ बनाउन सक्छाँै”, उहाँले भन्नुभयो ।
सञ्जालका रुपन्देही जिल्ला अध्यक्ष हेमा न्यौपानेले महिलाको नेतृत्वलाई उनीहरूको अधिकारका रूपमा स्वीकार गरेको अवस्था नहुनु र महिला जनप्रतिनिधिहरूको पारिवारिक, सामाजिक र राज्यकै स्रोतमाथि पूर्णरूपमा पहँुच स्थापित पनि हुन नसकेका कारण सरकारलाई दबाब दिन महिला मञ्चको आयोजना गरिएको बताउनुभयो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अभियन्ता भूमिका श्रेष्ठले महिलालाई नै सधैँ दोस्रो दर्जाका रूपमा राख्ने समाजले तेस्रोलिङ्गी समुदायलाई अझै पनि फरक दृष्टिकोणले हेर्ने गरेको गुनासो गर्नुभयो । “महिला अधिकारका लागि हामी पनि आन्दोलनमा जुट्यौँ, अब हाम्रो मुद्दा पनि सबैको साझा सवाल बन्नुपर्छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य सावित्रा घिमिरेले अपाङ्गता भएका महिला अझै पनि नेतृत्व तहमा पुग्न नसक्दा सवालहरू ओझेलमा परेको गुनासो गर्नुभयो । उहाँले अपाङ्गतामैत्री संरचना निर्माण र निर्वाचनमा अपाङ्गताको सहभागिता हुने वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।रासस
