पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।
सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकमा २६ वटा नयाँ सिसी क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताउनुभयो ।
सीमानाकामा आवश्यक निगरानी र अपराध न्यूनीकरणका लागि सिसी क्यामेरा अतिआवश्यक रहेको र बजार क्षेत्रमा अझै अपर्याप्त भएको उहाँको भनाइ छ । मेची भन्सार कार्यालय र इप्रका कार्यालय अगाडि जडान गरिएका १६ वटा क्यामेरा भने पहिल्यैदेखि चालु अवस्थामा छन् ।
पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि मेचीनगर नगरपालिकाको सहयोग र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा रु १८ लाखको लागतमा २३ वटा सिसी क्यामेरा बजारको महत्वपूर्ण स्थानमा जडान गरिएका थिए । ती सबै क्यामेरा एक वर्षअघि नै कि त बिग्रिए, कि त तस्करले फुटाइदिए ।
“पूर्वीनाका अत्यन्त महत्वपूर्ण र संवेदनशील भएका कारण यहाँ हरेक गौडा–गौडामा सिसी क्यामेराको आवश्यकता छ”, उहाँले भन्नुभयो, “पहिलेका सबै बिग्रिइसकेका रहेछन् । सीमातिरका १६ वटा चलिरहेका थिए । भर्खरै २६ क्यामेरा बजारमा जडान गरिएको छ । यतिले पुग्दैन ।
अहिले जडान गरिएका सबै सिसी क्यामेराको कन्ट्रोलरुम प्रहरी कार्यालयमै रहेको छ । काँकडभिट्टा क्षेत्रमा अपर्याप्त भएका कारण सङ्घीय सरकारसँग थप बजेट मागेर सहरमा सिसी क्यामेराको जालो बिछ्याउने मेची सामुदायिक सेवा केन्द्रको योजना छ ।
प्रहरी नायब उपरीक्षक भारतीले हरेक टोलका विकास समितिहरूले आफ्नै पहलमा सिसी क्यामेरा जडान गर्नसके र बैंक तथा वित्तीय संस्थाले बजार र सडकमा सार्वजनिक सिसी क्यामेरा राख्न अग्रसरता देखाउने हो भने सहरमा अपराध न्यूनीकरण, नियन्त्रण र अपराधीको पहिचानमा सहजता हुने बताउनुभयो ।
मेचीनगरको अन्य सहरमा पनि पर्याप्त मात्रामा सिसी क्यामेरा जडान गरिएका छैनन् । मेचीनगरको वडा नं ६ मा रहेको काँकडभिट्टा पूर्वीनाका हो भने वडा नं १० को धुलाबारी, वडा नं ७ को इटाभट्टा र वडा नं १३ को चारआली पूर्वपश्चिम राजमार्गमा रहेका ठूला सहर हुन् । यी चारवटै सहरको अधिकांश स्थानमा कि त सिसी क्यामेरा जडान गरिएका छैनन् कि त जडान भइसकेका पनि बिग्रिइसकेका छन् ।
दुई वर्षअघि धुलाबारी चोकमा स्थानीय नगरपालिका र बजार व्यवस्थापन समितिको सहकार्यमा सिसी क्यामेरा जडान गरिएका थिए । अहिले ती क्यामेरा थोत्रो बनेका छन् । धुलाबारी चोकमा रहेको प्रहरीको ट्राफिक बिटमा थन्क्याइएको कन्ट्रोलरुममा राखिएको टिभी स्क्रिनमा माकुराले जालो लगाएको छ ।
धुलाबारी, इटाभट्टा र चारआली बजार क्षेत्रमा नयाँ सिसी क्यामेरा जडानको पहल भइरहेको छ । मेचीनगरको वडा नं ९ र १० ले सिसी क्यामेरा जडानका लागि बजेट छुट्याएका छन् । तर जनसहभागिताको कुन अवधारणाबाट योजना अघि बढाउने भन्नेमा एकमत हुन नसक्दा वडाको बजेट खर्च भएको छैन ।
रासस
