गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ ।

बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि यस क्षेत्रमा खानेपानी अभाव भएको हो । नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या चर्किँदै गएको छ ।

यहाँका मुहान सुकेका छन् । धारा, कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन् । इनार, बोरिङ, हाते पम्प र पोखरीलगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीय बताउँछन् । “पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो”, पुष्पवलपुरका श्याम लामाले भन्नुभयो, “नुहाउने र सरसफाइ त टाढाको विषय भयो ।” नुहाउनका लागि तीन घन्टा टाढासम्म पुग्न बाध्य भएको उहाँले बताउनुभयो । लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ । लुगा धुन र नुहाउन भनेर कमला नदी पुग्नुपर्ने बाध्यता निम्तिएको छ ।

लक्ष्मी निवासका दीपेन्द्र सिंहले भन्नुभयो, “यस ठाउँमा झन्डै १० इनार छन्, तर सात इनारमा हिजोआज पानी पाउन छाडिसक्यो, तीन इनारमा मात्र पानी छ, त्यो इनार पनि छिट्टै सुक्ने छाँटकाँट देखिन्छ, ती इनारमा दिनभरि पानी भर्न महिला र पुरुषको लाम लाग्ने गर्छ ।”

मधेस प्रदेश चुरे संरक्षण र विकास अनुसन्धान विज्ञ नागदेव यादवका अनुसार अत्यधिक चुरे दोहनले यस क्षेत्रमा पानीको समस्या उत्पन्न भएको हो । यादवले भन्नुभयो, “अत्यधिक दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेको हो, यसले गर्दा राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको छ ।