तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाममा सञ्चालित गुरुकुल आत्मनिर्भर बन्ने प्रयासमा जुटेको छ । महेश सन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल आत्मनिर्भर बन्ने उद्देश्यले आयस्रोत जुटाउन लागिपरेको हो ।
आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल, महेश गुरुकुल संस्कृत विद्यापीठ र रामानन्द अनुसन्धान केन्द्र रहेका छन् । विशेषगरी वटुकलाई धर्म, संस्कृति र संस्कार सहितका शिक्षा दिने उद्देश्यले सञ्चालित गुरुकुलले वटुकको पठनपाठनलाई सहज बनाउन दीर्घकालीन आयआर्जन गर्न लागेको आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिनुभयो । संस्कृत गुरुकुल दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले पुस्तक प्रकाशन गर्न थालिएको उहाँले बताउनुभयो ।
“आर्थिक पक्षलाई दीर्घकालीन आम्दानीको स्रोत स्थापना गर्ने उद्देश्यले पाठ्यपुस्तक प्रकाशनको प्रयास गरेका छौँ, संस्कृतका पुस्तक अल्पसङ्ख्यक रुपमा प्रकाशित हुन्छन्, यसले दीर्घकालीन आयस्रोत निर्धारण गरेका छौँ”, व्यवस्थापक गिरीले भन्नुभयो । संस्कृत गुरुकुलमा पठनपाठन हुने पुस्तक, संस्कृतका दर्शनका पुस्तक प्रकाशन गरिएको उहाँले बताउनुभयो ।
आश्रमले हालसम्म संस्कृत पाठ्यपुस्तकसहित ३०÷३५ पुस्तक प्रकाशन गरिसकिएको र यसले आयस्रोतको बाटो निर्धारण भएको गिरीले बताउनुभयो । पुस्तक प्रकाशनले थोरै भए पनि आम्दानीको आयआर्जन गर्न थालेको उहाँले बताउनुभयो । रासस
