गुरु गोरखनाथ उत्पत्ति दिवसका अवसरमा आज पशुपतिनाथलगायत देशभरका गोरखनाथ मन्दिरमा रोट अर्पण गरिएको छ ।
रोट गुरु गोरखनाथको प्रिय वस्तु भएकाले उहाँको उत्पत्ति दिवसका अवसरमा रोट अर्पण गर्ने गरिन्छ । गुरु गोरखनाथको पहिलो प्रकटस्थलको सौभाग्य पाएकाले नै नेपाल अक्षुण र स्वतन्त्र रहेको विश्वास गरिन्छ ।
नेपालका शक्तिशाली छिमेकी राष्ट्र पराधीन हुँदासमेत नेपाल सदा नै स्वाधीन रहनुको आध्यात्मिक कारण यहीँ रहेको विश्वास गरिन्छ । प्राचीनकालमा नेपालीले गुरु गोरखनाथ र माता गोरखकालीको पुकार गरेर ठूला ठूला युद्ध जितेका तथा विश्वभरि नै वीर गोर्खालीको नामले प्रशंशित भएका उदाहरण पनि इतिहासका पानामा भेटिन्छन् ।
महायोगी गुरु गोरखनाथ समयको कालखण्डभन्दा माथि, नाथका महानाथ, देश, काल, स्थानभन्दा धेरै माथिका अद्वितीय महापुरूष हुनुहुन्छ । श्री गुरु गोरक्ष अनादि, अजर अमर मानिनुहुन्छ । गुरु गोरखनाथले ब्रह्माजीसमेतलाई सृष्टि गर्न सघाउनुभएको धार्मिक विश्वास छ ।
गुरु गोरखनाथ सृष्टिभन्दा पनि पहिले विराजमान हुनुहुन्थ्यो भन्ने मान्यता छ । हालसम्म पनि नेपालको मुद्रामा गुरु गोरखनाथको नाम तथा पादुका अङ्कित भएको पाइन्छ । नेपालीका गर्वका प्रतिमूर्ति महायोगी गुरु गोरखनाथकै कृपा आशीर्वादले नेपाली सेनाले बन्दुक र गोलावारीका बावजुद जय गोरख शब्दसँगै शत्रुलाई खुकुरीले परास्त गर्न सक्षम भए । महायोगी गुरु गोरखनाथ शिव नै हुनुभएकाले शिव गोरक्षका रूपमा आदरका साथ श्रद्धा भक्ति र विश्वासको केन्द्र मानी पूजा आराधना गरिन्छ । रासस
