जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ । चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ । म्याग्दी कारागारका चौकीदार वसन्त रोकाले पहिलो चरणमा आठ सय २० वटा मुढा चीन पठाइएको जानकारी दिनुभयो ।
“एक महिनाअघि एक हजार छ सयवटा मुढाको माग आएको थियो”, उहाँले भन्नुभयो “आठ सय २० वटा पठाइसक्यौँ । बाँकी मुढा बनाउन व्यस्त छौँ ।” कारागारमा रहेका कैदीबन्दीले समय बिताउनका लागि मुढा बनाउँदै आएका छन् ।
प्रतिगोटा मुढा रु चार सय ५० का दरले कारागारबाटै बिक्री भएको हो । खुद्रा प्रतिगोटा रु पाँच सयका दरले बेच्ने गरेका छन् । बाँस र पलास्टिकको रसी किनेर बुढा बनाउने गरेका छन् । कारागार प्रशासनले समन्वय गरेर मुढा बुन्न आवश्यक पर्ने बाँस र पलास्टिकको रसी व्यवस्थापन गरेको कारागारका प्रहरी प्रमुख क्षेत्रबहादुर बरुवालले बताउनुभयो ।
बेनी नगरपालिका–२ खबरामा रहेको कारागारमा ८० पुरुष र तीन महिला कैदीबन्दी छन् । यो कारागार सात महिलासहित ३२ जना क्षमताको हो । कारागारमा भएका ६० जनाले मुढा बुन्ने गरेका चौकीदार रोकाले बताउनुभयो । यसअघि मुढाले बजार नपाउँदा बुन्न छाडेका थिए ।
एक मुढा बुन्न बढीमा दुई दिन लाग्ने गरेको छ । छिटो बुन्नेले एकै दिनमा पनि तयार पार्छन् । ग्राहकको मागअनुसार आकार र डिजाइनको मुढा बनाउने गर्छन् । मुढा व्यापारी सन्तोष अधिकारीले रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन भएपछि चीनबाट मुढाको माग आएको बताउनुभयो । रासस
