भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ ।

“सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्दछ, कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्”, स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भन्नुभयो, “यहाँ स्थानीयभन्दा आयातित बिरामी बढी छन् ।” आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थानीय लामखुट्टेको टोकाइबाट औलो लागेको वा सरेकोका बिरामी पाँच र देश बाहिरका औलो जोखिमयुक्त क्षेत्रबाट आउँदा नै औलो लिएर आएको बिरामी १७ छन् ।

“वैशाख–जेठमा बिरामी बढी देखापर्छन्, यो सङ्ख्या अझै बढ्न सक्छ”, उहाँले भन्नुभयो, “औलो निवारण गर्नका लागि कीटनाशक झूल वितरण र विषादी छर्किंदैछौँ ।”

सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार आव २०७७÷७८ मा १६ स्थानीय र ३१ आयातित गरेर ४७ तथा आव २०७८÷७९ मा छ स्थानीय र ३० आयातित गरेर ३६ जनामा औलो सङ्क्रमण देखिएको थियो ।

महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा भेटिने औलोका अधिकांश बिरामी भारतबाट फर्किएका हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताउनुभयो । “भारतबाट काम गरेर फर्किनेहरुमा औलो रोगको सङ्क्रमण बढी छ”, उहाँले भन्नुभयो, “अस्पतालमा परीक्षण गर्दा त्यस्ता मानिसमा औलो सङ्क्रमण देखिएका छन् ।”रासस