धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा जिल्लाका अधिकांश स्थानीय निकायलाई चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन गर्न भ्याइनभ्याइ हुँदा सो गाउँपालिकालाई भने कार्यान्वयन भएका योजनाको भुक्तानी प्रक्रिया टुङ्ग्याउने चटारो छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत नागेन्द्र यादवले गाउँपालिकामा चालु आर्थिक वर्षका करिब ८० प्रतिशत योजना कार्यान्वयन भई भुक्तानीको काम चलिरहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा गाउँपालिकामा दुई सय ५२ योजनामध्ये दुई सयभन्दा बढी योजनाको काम लगभग सम्पन्न भइसकेको बताउनुभयो ।
वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएको बारे थप प्रष्ट्याउँदै प्रमुख प्रशासकीय अधिकृत यादवले भन्नुभयो,“मध्यकालीन खर्च संरचनाअनुसार चौमासिक रुपमा प्राप्त हुने बजेट, महालेखापरीक्षकको सुझाव कार्यान्वयन र राजनीतिक रुपमा सन्तुलन मिलाएर अगाडि बढ्दा सहजरुपमा भइरहेको छ ।”
गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले ऐन, नियम र कानुनको क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिले जनसेवकका रुपमा काम गरेमा धेरैजसो समस्या समाधान हुने बताउनुभयो । “हामी जनताको सेवक भएर काम गर्नका लागि निर्वाचित भएर आएका छौँ तर व्यक्तिगत र पार्टीगत लाभ—हामी हेर्न थालेमा समस्या उत्पन्न हुन्छ । ऐन, नियम र कानुनको परिधिभित्र रहेर काम गर्ने कुरा मैले प्रशासनिक र जनप्रतिनिधिको भूमिकामा रहेका सबै साथीहरुलाई भनेको छु । विवाद आउनसक्छ तर त्यसको निदानका लागि विधि हुन्छ । त्यसैको अनुशरण गर्दा समस्या समाधानमा सहज हुन्छ”, उहाँले ,“लक्ष्मिनियाँका सबै सरोकारवालामा विकास क्रियाकलापमा अवरोध गर्नुहुँदैन भन्ने भावना विकास भएकाले पनि समयमै काम गर्न सम्भव भएको हो ।” रासस
