सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्सनले आज धनगढीमा भेटवार्ता गर्नुभएको छ । सो अवसरमा अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालित आयोजनाको विषयमा छलफल भएको मन्त्रालयका सचिव प्रेमदत्त भट्टले जानकारी दिनुभयो ।

अमेरिकन राजदूतको नेतृत्वको टोलीले स्वास्थ्य र कृषि क्षेत्रको सहयोगका साथै विपद् व्यवस्थापनका विषयमा छलफल गरेको थियो । रोजगारीका लागि विदेशिएका नागरिकलाई स्वदेशमै सीप सिकाएर उद्यमशीलतातर्फ लगाउने, कृषकलाई निजी क्षेत्रसँग जोड्ने र मानव बेचबिखन रोकथाम विषयमा समेत दूतावासको टोलीले चासो राखेको थियो ।

छलफलका क्रममा मन्त्री देउवाले कृषि, स्वास्थ्य शिक्षा, धार्मिक पर्यटन प्रवद्र्धनका साथै पूर्वाधार निर्माण सरकारको प्राथमिकता रहेको बताउनुभएको थियो । युएसएआइडीको सहयोगमा सञ्चालित आयोजनाको स्थलगत निरीक्षण अनुगमन गर्न अमेरिकन राजदूत सुदूरपश्चिम आइपुग्नुभएको हो । युएसएआइडीको सहयोगमा सुदूरपश्चिम प्रदेशमा कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न योजना सञ्चालनमा छन् ।रासस