उपल्लो डोल्पामा दुई दिनदेखि हिमपातले गर्दा जनजीवनमा असर पारेको छ । विकास निर्माणको अनुगमन तथा निरीक्षणका कामसमेत हिमपातमै सुरु भएका छन् । शे फोक्सुण्डो गाउँपालिकाले विभिन्न ठाउँमा शिविर तथा योजनाको अनुगमन हिमपात जारी रहदा पनि चालु राखेको छ ।

पालिकाभित्र आगामी आर्थिक वर्षका लागि बस्तीस्तरबाटै योजना छनोट तथा तर्जुमाका कामसमेत हिमपातसँगै चलिरहेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपानेले बताउनुभयो । “हिउँ परे पनि काम गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “जीवन जोखिममा पारेर भए पनि काम गर्नुपर्ने बाध्यता छ।”

आजमात्र दुई कर्मचारी हिमपातमा काम गरेकै कारण बिरामी भएका छन् । अक्सिजनको मात्रा अत्यन्तै कम हुने भएकाले काम गर्न गाह्रो छ । एक बस्तीबाट अर्को बस्तीमा जान र आउन हिमाल नै पार गर्नुपर्ने भएकाले पनि मुस्किल हुने गरेको छ ।” गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङको नेतृत्वमा एक टोली परिचालन भएको छ, भने अर्को टोली उपाध्यक्ष पेम्मा वाङछेन गुरुङको नेतृत्वमा परिचालित भएर काम गरिरहेको अधिकृत न्यौपाने बताउनुभयो । पालिकाभित्रका सबै ठाउँमा स्वास्थ्य शिविर, पञ्जीकरण सम्बन्धीकाम, योजनाको सार्वजानिक सुनुवाइ र विद्यालय अनुगमनका काम भइरहेको बताइएको छ । जाडो याममा हुन नसकेका सम्पूर्ण काम यही बेला गरिरहेको उहाँले उल्लेख गर्नुभयो । यातायातको पहुँच नभएका कारण यहाँका सबै ठाउँमा हिँडेर जानुपर्ने अर्को बाध्यता छ । काममा खटिएका कर्मचारीदेखि जनप्रतिनिधिसम्मलाई फोन सम्पर्कसम्म गर्न मुस्किल भएको छ । काम गर्दागर्दै सिकिस्त बिरामी भएमा हेलिकोप्टरबाटसमेत उद्धार हुने गरेको छ ।रासस