कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारिताको छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको बताउनुहुन्छ नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर ग¥यो । अनलाइन सञ्चार माध्यम विस्तार हुनु कोरोनाकै ‘बाइ प्रोडक्ट’ भएको उहाँको तर्क छ ।

कोरोनाले छापा पत्रकारितामा पारेको असरका विषयमा उक्त सञ्जालले अध्ययन गरेको थियो । कोरोनाकै कारण सहजरूपमा पत्रिका छापिएर वितरण हुन नसकेकाले सामाजिक सञ्जालमा समाचारका सामग्री आउने क्रम पनि बढ्यो । कोरोनापछि केही अनलाइनले राज्यको नियमनमै रहेर पनि पत्रकारिता गरिरहेका छन् ।

कोरोनाका बेला पत्रिका छापिएर वितरण हुन नसक्दा पत्रकार एवं कामदारले समयमा तलब पाउन सकेनन् । कोरोनापछि अर्थ व्यवस्था पनि बिग्रिएकाले पत्रिकाले विज्ञापन पाउन सकेनन् । राज्यले पनि तुलनात्मकरूपमा बढी जिम्मेवार भएर पत्रकारिता गरिरहेको छापामाध्यमलाई पुरानो अवस्थामा फर्काउन काम गरेको अनुभूति नभएको अध्यक्ष त्रिपाठी बताउनुहुन्छ ।

पत्रकारिताले राजनीतिक क्षेत्रका प्रश्न पनि उठाउने भएकाले राज्यका तर्फबाट त्यस्तो प्रयास हुन नसकेको उहाँको भनाइ छ । “पत्रकारिताको विश्वसनीयता घट्दा राजनीति गर्ने र भ्रष्टचार गर्नेलाई तुलनात्मकरूपमा सजिलो हुने भएकाले यस्तो भएको हो, पत्रकारिताको विश्वसनीयता रहिरह्यो भने सुशासन र राजनीतिक स्थिरता कायम हुनसक्छ”–पत्रकार त्रिपाठी भन्नुहुन्छ ।रासस