पशु स्वास्थ्य तथा बाँझोपन निवारण गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले घर घरमा सेवा दिन थालेको छ । विज्ञ केन्द्रले यही वैशाख १५ देखि १७ गतेसम्म घर–घरमा पुगेर पशु स्वास्थ्य सेवाका लागि शिविरमार्फत सेवा दिएको हो ।

जिल्लाको नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिकाका पशुपालक किसानको घरमा पुगेर पशु स्वास्थ्य सेवा दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो । उहाँका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजना तथा राष्ट्रिय पशु प्रजनन कार्यालयको प्राविधिक सहयोग तथा स्थानीय तहको समन्वयमा सेवा प्रदान गरिएको हो ।

नासों गाउँपालिकाका ताचै, तिल्चे, ओडार र दानाक्युमा घरदैलोमा नै पुगी पशुको बाँझोपनसम्बन्धी विशेषज्ञ चिकित्सकद्वारा पशु स्वास्थ्यपरीक्षण गरी उपचार र परामर्श दिइएको प्रमुख कुशुमले बताउनुभयो । उहाँका अनुसार ती क्षेत्रका १२ गाईको स्वास्थ्य परीक्षण र निकट भविष्यमा यसलाई कसरी उपचार गर्ने र कुन कुन समय तालिकामा कसरी उपचार गर्ने विषयमा परामर्श दिइएको थियो । गाईको परीक्षण गर्दा फ्लासिड पाठेघर, परसिस्टेण्ट कर्पस लिउटियमबाहेक कुनै पनि पाठेघरसम्बन्धी सङ्क्रमण नभएको र सबै पशुमा सन्तुलित आहाराको कमीका कारण पशु समयमा नब्याउन नसकेको पशु चिकित्सकको भनाइ छ ।

त्यस्तै चामे गाउँपालिकाअन्तर्गत पाँच गाईको परीक्षण गरिएकोमा कुनै पनि पाठेघरसम्बन्धी सङ्क्रमण नभएको र सन्तुलित पशु आहाराको कमीले पशु समयमा साँढे नखोज्ने समस्या देखिएको परीक्षणका क्रममा पाइएको उहाँले जानकारी दिनुभयो । मनाङ ङिस्याङ गाउँपालिकाका पशु प्रजननसम्बन्धी उपचारको लागि किसानको मागअनुसार लुलु गाई र चौंँरीमा प्रजनन सुधारको लागि औषधि वितरण गरिएको प्रमुख कुशुमले बताउनुभयो । रासस