विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् ।
आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफनो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक हुनुहुन्छ, डा ह्यारी भण्डारी ।
अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहनुभएको छ । अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो कठिन कार्य हो ।
केही थान अङ्ग्रेजी साहित्यका र नेपाली किताब सुटकेसमा हालेर सन् २००५ मा अमेरिका आउनुभएका भण्डारी आधा दशकदेखि भने अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनमा सांसदका रुपमा क्रियाशील हुनुहुन्छ । कूल एक सय ४१ सदस्यीय सांसद राज्यका लागि बजेट तर्जुमा, आवश्यक पर्ने नीति नियमको परिमार्जन र गभर्नरको भिटोलाई समेत निष्क्रिय गराउन सक्ने गरी मुख्य कार्य क्षेत्र निर्धारण गरिएको छ । अमेरिका स्वतन्त्र हुनुभन्दा एक सय ४४ वर्षअगाडि नै सन् १६३२ मा स्थापना भएको मेरिल्यान्ड जनरल एसेम्बलीले हालसालै चार सय ४५औँ बैठक सम्पन्न गरिसकेको छ । रासस