झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जो कोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ ।

भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको सङ्ख्या दिनहुँ बढिरहेको छ ।

विसं २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्यटक लोभ्याउने सौन्दर्य पार्क थियो यो । राजनीतिक द्वन्द्वका कारण रमणीयस्थल बिस्तारै उजाड बन्न पुग्यो ।

पार्कको बीचमा राजा महेन्द्रको पूर्णकदको सालिक रहेकाले यो पर्यटकीयस्थल राजनीतिक द्वन्द्वको सिकार बन्न पुग्यो । विसं २०४६ सालपछि २०६२÷६३ को जनआन्दोलनसम्मको डेढ दशक अवधिसम्म पार्क बेवारिसे झैं बन्यो । पार्कभित्रका फूलका बगैँचा र भौतिक संरचनाले स्याहर पाएका थिएनन् भने वर्षांैसम्म पार्कको ढोका बन्द रह्यो ।

विसं २०६२÷६३ को जनआन्दोलनमा पार्ककै छेउमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा सुरज विश्वास र राजन गिरीले सहादत प्राप्त गर्नुभएको थियो । आन्दोलनकै क्रममा राजा महेन्द्रको सालिक भत्काइयो र राजाको गुणगान गरिएका शिलालेखहरु ध्वस्त बनाइयो ।

सुन्दर पार्क लामो समयसम्म भग्नावशेषमा अवस्थामा रहेपछि स्थानीय र सञ्चारमाध्यमले पार्कको जीर्णोद्धार हुनुपर्ने आवाज उठाउन थाले । जनआवाजको कदर गर्दै भद्रपुर नगरपालिकाले विगत चार वर्षदेखि यसको जीर्णोद्धार र सौन्दर्यकरणमा ध्यान दिन थालेको छ ।रासस