नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो । समुद्री सतहबाट तीन हजार तीन सय १० मिटर उचाइमा रहेको मोहरेडाँडामा पानीको स्रोत छैन । हिउँदमा हिउँ, बर्खामा बलेसीबाट प्लाष्टिकको ड्रममा सङ्कलन गरेर पानीको जोहो गरिएको मोहरेडाँडा सामुदायिक लजका व्यवस्थापक नवीन पुनले बताउनुभयो ।

“लजबाट करिब छ सय मिटर तल जङ्गलको खोल्सामा रहेको सानो मूलमा दुईवटा एक–एक हजार लिटर क्षमताका ड्रममा पानी जम्मा गरी मोटरले पानी तान्ने गरिएकामा सोलार पावर नपुग्दा मोटरले पानी पम्प गर्न छाडेको छ”, उहाँले भन्नुभयो, “पम्पिङ सिस्टम बिग्रिएको, आकाशे वर्षा नभएको र हिउँ नपरेको अवस्थामा खच्चरबाट पानी बोकाएर ल्याउने गरिएको छ ।”

एउटा मुहानबाट एक दिनमा करिब पाँच सय लिटर पानी सङ्कलन हुन्छ । सङ्कलन नभएको पानी सोलार पम्पिङ प्रविधिबाट प्रयोग गरिँदै आएको थियो । अर्को मुहान केही तल भिर जराको खोल्सामा छ । यो मुहान अलि ठूलो छ । खानेपानीको अभाव पूरा गर्न पुस–माघमा एक हजार लिटरका २० वटा ड्रममा हिउँ जम्मा गरी पगाल्दै खुवाउने गरेकामा यसपालि हिउँ परेन ।

असोज–कात्तिकको सिजनमा पानी अभाव पूरा गर्न बर्खायामको बलेसी पानी ड्रममा जम्मा गर्ने गरिएको छ । सङ्कलन गरिएको पानीलाई क्लोरिनबाट निर्मलीकरण गरेर खाने÷खुवाउने गरिएको छ । रासस