बागलुङको गलकोट–१० पाण्डवखानीस्थित ‘घुम्टे हाते कागज उद्योग’ वर्षदिनयता बन्द छ । जिल्लाको काठेखोला र तमानखोलामा खुलेका कागज उद्योगको नामनिसान छैन । ताराखोला–५ मा सञ्चालित दुई उद्योग पनि बन्द हुने स्थितिमा छन् ।
पछिल्ला केही वर्षयता म्याग्दीका तीन नेपाली हाते कागज उद्योग बन्द भए । मालिका–३ को ‘मालिका कागज उद्योग’ मात्र अहिले सञ्चालनमा छ । छिमेकी पर्वतले पनि कागज उद्योग जोगाउन सकेन । यसरी धमाधम उद्योग बन्द हुन थालेपछि हाते कागजको पेसा नै सङ्कटमा परेको छ ।
कागज उद्योगमा आश्रित गाउँलेले रोजीरोटी गुमाउन थालेका छन् । रैथाने सीप र उत्पादन हराएर जाने चिन्ता थपिएको छ । कोभिड–१९ महामारीअघि हाते कागजको माग धान्नै धौधौ परेको बताउने उद्योग सञ्चालकहरु अहिले निराश भएका छन् ।
‘घुम्टे हाते कागज उद्योग’ का सञ्चालक चुराबहादुर घर्तीले उद्योग नै बन्द गरेर गाउँ छाडेको स्थानीय चन्द्रकुमारी श्रीसले बताउनुभयो । “सुरुमा समुदायले नै उहाँलाई उद्योगको जिम्मा लगाएको हो, केही वर्ष राम्रै चल्यो, अहिले बन्द छ”, श्रीसले भन्नुभयो, “उद्योगको लगानी खेर जाने अवस्था आएको छ ।”
तत्कालीन जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घलगायत सङ्घसंस्थाले उद्योग खोल्न सहयोग गरेका थिए । हाते कागज उद्योग खुलेपछि वनमा लोक्ता सङ्कलनदेखि प्रशोधन गरेर कागज बनाउनेसम्मका काममा गाउँले जोडिएका थिए ।
गाउँमै उद्यमी भएर बस्न पाउँदा उद्योग सञ्चालक घर्ती पनि मक्ख हुनुहुन्थ्यो । उद्योगमा वर्षमा डेढ लाख थान कागज उत्पादन हुन्थ्यो । एक कोरी कागजको रु ११ सय मूल्य थियो । उद्योगबाट वर्षेनी झण्डै १० लाख बराबरको कागज बिक्री हुन्थ्यो । उद्योगमा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।रासस