सिरियाको लामो समयदेखि जारी द्वन्द्व र यस क्षेत्रमा दमास्कसको कूटनीतिक अलगाव अन्त्य गर्ने विषयमा छलफल गर्न अरब विदेशमन्त्रीहरू सोमबार जोर्डनमा भेला हुने जोर्डनी विदेश मन्त्रालयले जनाएको छ ।
सन् २०११ मा द्वन्द्व सुरु भएदेखि नै राजनीतिक रुपमा एक्लिएका सिरियाका राष्ट्रपति बशर अल असदले अरब क्षेत्रमा कुटनीतिक सम्बन्ध सुधारमा भएको प्रगतिको लाभ लिने देखिएको छ ।
दमास्कसको निकट सहयोगी साउदी अरब र इरानले गत मार्चमा कूटनीतिक सम्बन्ध पुनः सुरु गरेपछि पछिल्ला हप्ताहरूमा कूटनीतिक गतिविधिको बाढी आएको छ ।
अम्मानमा सोमबार हुने बैठकमा इजिप्ट, इराक, जोर्डन, साउदी अरब र सिरियाका विदेशमन्त्री सहभागी हुनेछन् ।
वार्ताले सिरियालीसङ्कटको राजनीतिक समाधानमा पुग्नका लागि सिरियाली सरकारसँग यी देशहरूको सम्पर्कको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त भेलालाई ‘खाडी सहयोग परिषद्, जोर्डन, इराक र इजिप्टका देशहरूको परामर्श बैठकको निरन्तरता हो, जुन साउदी अरबले अप्रिलको मध्यमा आयोजना गरेको थियो ।”
सन् २०११ मा दमास्कससँगको सम्बन्ध तोडेपछिको लामो समयसम्मको सिरियाको ‘कूटनीतिक एक्लोपना’ अन्त्य र २२ सदस्यीय अरब लिगमा सिरियाको सम्भावित पुनरागमनबारे छलफल गर्न उक्त बैठकमा नौ अरब राष्ट्र जेद्दामा भेला भएका हुन् ।रासस
