कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रङ्गशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताउनुभएको छ ।

प्रदेश गौरवको आयोजनाका रूपमा रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित रङ्गशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था गरिने बताउनुभएको हो ।

राष्ट्रिय लेखा दिवस २०८० का अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको आज समापन कार्यक्रममा मन्त्री सिंहले कर्णालीलाई खेलकुदका क्षेत्रमा अब्बल बनाउन पनि यस क्षेत्रका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले खेलाडीको संरक्षण र क्षमता विकासका लागि प्रदेश सरकार तयार रहेकोसमेत उल्लेख गर्नुभयो । “खेल क्षेत्रलाई मर्यादित बनाउन गर्नुपर्ने कामका लागि प्रदेश सरकार तयार छ”, मन्त्री सिंहले भन्नुभयो । उक्त अवसरमा मन्त्री सिंहले ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गर्नुभयो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर बमका अनुसार तीन दिनसम्म चलेको प्रतियोगितामा ९३ समूह सहभागी हुनुभएको थियो । प्रदेशभित्रका कर्मचारीसहित सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, बाँके र कैलालीको समूहसमेत प्रतियोगितामा सहभागी भएका हुनुभएको थियो । कर्मचारीतर्फ कविन्द्र पुन र ईश्वर रावलको समूह प्रथम हुँदा महेशसिंह ठकुरी र खगेन्द्र माझीको समूह द्वितीय हुनुभयो । यस्तै फणेन्द्र रेग्मी, तुल्सी घर्ती, कमल खत्री र रुपसिंह विकको समूह तृतीय हुनुभएको थियो ।रासस